लाँकुरी रुट्स: नैतिक दृष्टान्त (कविशिरोमणी)

नैतिक दृष्टान्त (कविशिरोमणी)

Sunday, January 23, 2011

बडाले जो गर्यो काम हुन्छ त्यो सर्व-संमत ।
छैन शङ्करको नङ्गा, मगन्ते भेष निन्दित ।।

गर्दैन ठूलो व्यक्ति मर्यादा-स्थिति-लङ्घन ।
बसेको छ महासिन्धु सीमाबद्ध बनीकन ।।

दबिन्छ गुणिको दोष गुणका राशिमा परी ।
रश्मिले चन्द्रको दाग दबाएकै छ बेसरी ।।

कसैको लोकमा छैन एकैनास समुन्नति ।
अरूको के कुरा हेर सन्ध्यामा सूर्यको गति ।।

छोटो बढ्यो भने ज्यादा फूर्ति ढाँचा बढाउँछ ।
उर्लँदो खहरे हेर कत्तिको गड्गडाउँछ ।।

ज्यादा सोझो हुनूभन्दा टेढिनु छ फलाऽधिक ।
गरदैन कुनै सोझो ग्रहको पूजनाऽऽदिक ।।

टपर्टुञ्या पनि हुन्छ मूर्खमध्ये प्रतिष्ठित ।
बोलने को अँध्यारोमा महाऽऽत्मा जुन्किरीसित ।।

सानै देखी छुचो हुन्च दुष्ट मानिसकि मति ।
घोचने जङ्गली काँढा पहिले नै तिखा कति ।।

मिलेर काम गर्नाले हुन्छ अत्यन्त फायदा ।
एकता हेर कस्तो छ मौरीको महमा सदा ।।

जो दिँदैन उही दिन्छु भनी गर्जन्छ सत्त्वर ।
जो हो नवर्षने मेघ उसैको हुन्छ घर्घर ।।

हुनुपर्दछ मौकामा शत्रुको पनि सेवक ।
कोइली कागकै बच्चा बन्छ सानू छँदा तक ।।

गुणग्राही जहाँ छैन वहाँ के गरला गुणी ।
कौडीमा तक मिल्कन्छ भिल्लका देशमा मणि ।।

योग्य  स्थानविषे मान सानाले पनि पाउँछ ।
कृष्णाका तटको ढुङ्गा देवता कहलाउँछ ।।

उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर ।
फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ।।

मेटिँदैन कसैबाट आफनू कर्मपद्धति ।
बनवासी बनेर राम चौधै भुवनका पति ।।

धर्म हो धीरको धैर्य राखनू दु:खजालमा ।
मानू मौनव्रती हुन्छ कोइली शीतकालमा ।।

सारा सार लिई कन्था छोडी-दिन्छ गुणी जन ।
रस चुसेपछि भृङ्ग फूलमा भुल्दथ्यो किन ?

सङ्गले पनि जाँदैन दुष्टको दुष्टता रिस ।
श्रीखण्डमा बसी सर्प कहाँ हुन्थ्यो र निर्विष ।।

मूर्खका मनमा अर्ती गालीतुल्य बिझाउँछ ।
दूधपान गरी सर्प खालि विष बहाउँछ ।।

===============================
जीवनमा केहि त्यस्ता खुड्किला हरु हुँदा रहेछन्, जहाँ बाट एकपटक फर्केर हेर्नु पर्ने रहेछ । यो निश्चित यात्रा अनि अनिश्चित गन्तव्यको सायद त्यस्तै कुनै खुड्किलोमा उभिएको छु । मानसपटलमा लट्टाइबाट धागो फुकेझैँ धेरै सम्झनाका तरङ्गहरू छुट्दैछन । त्यसमध्ये अर्धचेतमा नै सहि मन मष्तिष्कको कुनै अन्तरमा सँधै गुन्जिरहने माथिका केहि हरफले आज उत्रने मौका पाए । अनि अनौठो प्यास लाग्यो, तिर्सना जाग्यो  फेरी एकपटक यो ज्ञानवृक्षको छहारीमा सुस्ताउने । वि.सं १९७४ मा कविशिरोमणी लेखनाथ पौड्याल (वि.सं १९४१ - २०२२)ले जिवन दिएका यी विचार हरू समयको अन्त्य नहुन्जेल सम्म सार्थक र सापेक्षित रहने कुरामा कुनै दुविधा छैन । कविता यसरी उपलब्ध गराउने epustakalaya.org लाइ हार्दिक धन्यवाद र कविशिरोमणीका अन्य कविता पाठन गर्नलाइ तलको pdf फाइल डाउनलोड गर्न सक्नुहुनेछ । समायोजक तथा संकलक अनि कवि डा. वासुदेव त्रिपाठीलाइ पनि हार्दिक आभार । 

PDF फाइल हरू हेर्न ADOBE ACROBAT READER वा अन्य PDF VIEWER भन्ने सफ्टवेयरको आवश्यक पर्न सक्छ । 

2 comments:

  1. Enjoyed reading it again!
    Thanks for posting it.

    ReplyDelete
  2. यी सुन्दर हरफहरु संग पुन भेट गराउनु भएकोमा धन्यबाद ! असाध्यै मननयोग्य कुरा छन् यहाँ |

    ReplyDelete

Your feedback ?