लाँकुरी रुट्स: शीतयुद्धका योद्धाहरू

शीतयुद्धका योद्धाहरू

Saturday, January 22, 2011

छहरा छाँगाहरूमा
निश्चल निर्मल बग्ने
भाग्य खोसेर,
आकार-वजन घटाउँदै हिउँझैँ
जमाउन खोज्दा,
फुस्स फुस्स उडाउँदै गर्दा,
वायु चापले जति खाँद्छ,
भित्र भित्र आगो बन्ने
शीतयुद्धका योद्धाहरू,
आईसल्याण्डका ज्वालामुखी हुन्।

लचकताको खोल ओढेर,
मुसुक्क हाँस्दै,
मीठो बोलि र मुस्कानका पारखी,
अदूरदर्शी वैज्ञानिकले उब्जाएका,
सूक्ष्म तर महाप्रलयका संवाहक,
शीतयुद्धका योद्धाहरू,
भक्षक को रणनीति घोकेका,
मानव प्रयोगशालाका अणुबम हुन्।

उज्यालो को आँखा छलेर,
अँध्यारोको साम्राज्यमा,
रजाइँ गर्ने ब्वाँसो,
जब आधा चन्द्रमा तर्फ फर्की
युद्ध घोषणाको शङ्ख फुक्छ,
अनि एक दर्को
शीतलहर चल्छ,
शीतयुद्धका योद्धाहरू,
नाङ्गा हात उजाउँदै मैदानमा उत्रन्छन्।

अनि बल्ल सुरु हुन्छ क्रान्ति,
उज्यालोको खोजी,
एक तप्का शीत नओभाए सम्म,
बिरुवा जुरमुराउँदैन,
फेर्नै पर्छ प्रकृतिले काँचुली,
अन्त्य हुन्छ अब शीतयुद्धको,
शीतयुद्धका योद्धाहरू,
विष्फोट भएर उर्जामा परिणत हुन सिकिसके।

No comments:

Post a Comment

Your feedback ?