लाँकुरी रुट्स: नातावाद र ज्यास्मिन क्रान्ति

नातावाद र ज्यास्मिन क्रान्ति

Monday, January 17, 2011

Mohammad Al Bouazizi
अल बौवाजिजि एउटा मध्यम वर्गीय परिवारका सदस्य थिए । २६ वर्षको उमेरमा स्नातकोत्तर तहको अध्ययन सकिसकेको भए तापनि देशमा विद्यमान बेरोजगारी का कारण जीविकोपार्जन गर्न मुस्किल भए पछि उनि गाडामा राखेर तरकारीको सडक व्यापार गर्न लाग्छन्। यस्तै मा एक दिन प्रहरीले उनलाई आवश्यक कानुनी प्रक्रिया नपुर्याइ व्यापार गरेको भनेर उनको गाडा खोस्न पुग्छ। त्यहाँ सामान्य झडप समेत हुन्छ। उनि यो कुरा 'रोजगारी शाखा' मा गएर उजुरी गर्दा उनको उल्टै बेइज्जत र अपमान गरिन्छ। यसै मानसिक दबाब मा आएर उनले एउटा सरकारी भवन अगाडि गइ आत्मदाह गर्ने प्रयास गर्छन् । १८ दिनको अस्पतालको उपचार प्रयास पछी उनको निधन हुन्छ । उत्तर अफ्रिकाको टुनिसिया मा २०१० डिसेम्बर १७ मा घटेको सत्य घटना हो यो ।

Bouazizi
यस घटना ले देश व्यापी रुपमा छरिएर रहेका गरिवी र खाद्यान्न को अभावमा बाँचिरहेका 'बेरोजगार सेना' भनिएका युवाहरूको आक्रोसको विष्फोट हुँदा यस्ले क्रान्तिको रुप लिन पुग्छ । विभिन्न रङ् भनेर आलङ्कारीक रुपमा सबै समस्याहरूलाई अँगालेको यस क्रान्तिलाई नै टुनिसियाको राष्ट्रिय फूलको नाउँमा 'ज्यास्मिन क्रान्ति' को संज्ञा दिइएको हो । 'बेरोजगारी' मुख्य समस्या भनिए तापनि समस्याको जरो देशमा विद्यमान राजनीतिक घुसखोरी, नातावाद मा आएर अडिन्छ । विशेषत राष्ट्रपति बेन अलि ले आफ्नो शक्तिको प्रयोग गर्दै अनेक आफन्तिहरुलाइ विभिन्न रुपले पोषेको त्यहाँका जनतालाइ कत्ति रुचेको थिएन। अंग्रेजीमा Nepotism भनिने सो प्रकृया हाम्रो लागी पनि नौलो पक्कै होइन। राजनीतिक नियुक्ति होस् वा सरकारी जागिरका पदपूर्तिका ठाउँमा होस् दक्ष र योग्य व्यक्तिलाई अनुभव, क्षमता का आधारमा नभइ नाता कुटुम्ब, भएन भने चाकडीको आधारमा जस्तोसुकै व्यक्तिलाई नियुक्ति गर्ने कुरा हामीले भन्दा अरु कसैले भोगेको छैन भन्दा अतिशयोक्ति नहोला। त्यसो त भारतमा गान्धी परिवारमा राजनीतिक शक्ति हस्तान्तरण, अमेरिका मा JF Kennedy का भाइको न्यायालय नियुक्ति र केहि महिना अगाडि माधव कुमार नेपालले आफ्नै भाइ बिनोद कुमार उपाध्याय लाइ हङकङको महावाणिज्य दुतको नियुक्ति जस्ता थुप्रै विश्वव्यापी उदाहरण हरु सुन्न पाइन्छ ।

विकसित राष्ट्रहरुमा यस्तो ज्यादै विरलै हुन्छ र भए पनि धेरै माथिल्लो तहमा केहि हद सम्म सबल मान्छेलाइ  नियुक्ति गर्ने गरेको पाइन्छ। हाम्रो समाजमा यो रोग सुक्ष्म तह सम्म गाढिएर बसेको छ । सामाजिक क्रान्तिका जति सुकै खोक्रा भाषण गरेतापनि कुनै गौरवशाली दल र तिनका अगुवाइले देखे र भेटे जति ठाउँमा नाता कुटुम्ब घुसाउने प्रवृत्ती नहटेकै कारण समाज र देश २० वर्ष अगाडिकै अवस्थामा छन्। गाउँका खानेपानीका योजना देखि विदेश भ्रमणका विशेष टोली सम्ममा नातावाद छ्याप्छ्याप्ति देख्न पाइन्छ।   व्यक्तिगत लगानीमा  चलेका नाफामुलक व्यापारिक संस्थाहरूमा त यो स्वाभाविक नै हुने भयो, यदि आफ्नै कुटुम्ब मा कोही बिँडो थाम्ने उत्तराधिकारी ननिस्केमा सो संस्था स्वत निर्मुल हुने उदाहरण राजसंस्थाले दिएर गयो । त्यसैले स्थिरता का लागी पनि बरू व्यक्तिगत संस्थाहरूमा योग्यतले मान्यता पाएको होला, तर राष्ट्रसेवाको नाममा खोलिएका मन्त्रालय, कार्यालय देखि साना तिना कमिटि जो सँधै चलिरहन्छन् त्यहाँ पुस्तौँपुस्ता सम्म असक्षम व्यक्तिले गर्दा सरकारी काम कार्यालय हरु त्यती लोकप्रिय छैनन्। देश र जनता सँग प्रत्यक्ष सरोकार राख्ने पेशा सँग परिवार मिसाउने यो खेल निर्मुल भयो भने हाम्रा कति हदसम्मका समस्या समाधान हुन्छन् होला एकपटक विचार गरौँ त ? जलस्रोत को त्यत्रो उर्जा परिवर्तन गर्ने हाइड्रोपावरहरु हुँदा हुँदै किन हामी व्यक्तिगत रुपमा वैकल्पिक उर्जाको बारेमा सोच्दै छौ ?

ट्युनिसियाको हकमा भने २३ वर्ष सम्म राज गरेका त्यहाँका राष्ट्रपति बेन अलि ले १४ जनवरी २०११ मा देश छोडेर फरार भएपछि अन्तरिम सरकारको व्यवस्था गरी ६० दिन भित्रमा चुनाव गराउने तयारी हुँदैछ । आन्दोलनमा सहयोगी भूमिका खेलेका twitter, wikileaks र youtube हरुको पनि प्रमुख साझेदारका रुपमा नाम जोडिएको छ 'ज्यास्मिन' क्रान्ति सँग ।  सन २००९ मा राष्ट्रपति बेन अलि का ज्वाईँले अमेरिकि राजदुत लाइ भव्य भोजले स्वागत गरेको कुरा wikileaks ले सार्वजनिक गरेको थियो। पश्चिमी मुलुकमा Christmas र नयाँ वर्षको उमंगले  मुख्य मिडियामा त्यती धेरै ठाउँ नपाएको ज्यास्मिन क्रान्तिले twitter मार्फत तस्विर र youtube का भिडियोहरु व्यापक रुपमा विश्वसामु पुर्याएको हुनाले यसलाइ Twitter Revolution पनि भनिएको छ।   अल बौवाजिजि बाट सुरुभएको क्रान्तिमा ५० भन्दा बढी ज्यानको क्षति भएको अनुमान छ । आशा गरौँ टुनिसियाका जनताले  छिटै राजनैतिक राहत पाउन र देशमा शान्ती छाओस् ।

उत्तर अफ्रिकि भेगमा अरु देशको तुलनामा शान्त, स्थिर र प्रगतिशील मानिने टुनिसिया को यस्तो अप्रत्याशित क्रान्ति सफल भएपछि विश्वमा राजनैतिक दवावले आक्रान्त र पिडित देशका जनताको आवाजले विकराल रुप लिन किन सक्दैन भन्ने त्राशले अफ्रिकाकै अन्य छिमेकी मुलुक तथा विश्वका अन्य राजनैतिक, धार्मिक, प्रशासनिक जस्ता क्षेत्रमा नातावाद हुलेर मनमौज गर्ने सामन्तीहरुको टाउको दुखाइको विषय बनेको छ।

Further Reading : Did Wikileaks fuel Tunisian Revolution?
                         : How a fruitseller caused revolution [CNN]
                         : Whats going on in Tunisia [CNN]
                         : Nepotism [Wikipedia]
                         : Jordan protesters inspired by Tunisia ripple
                         : Two Egyptians try to set themselves on fire.

3 comments:

  1. सान्दर्भिक लाग्यो लेख । एउटा रमाइलो पनि कुनै पनि घटना अब बहस र चर्चाका लागि सञ्चार जगत भन्दा नि सामाजिक सञ्जालले पो महत्वपूर्ण भूमिका निभाउने भो त ।

    ReplyDelete
  2. धन्यबाद रबिन्द्र रिजाल जी !
    निकै राम्रो समसामयिक लेख लेख्नु भएको मा ! र केहि विस्तृत रुपमा "ज्यास्मिन क्रान्ती" को बारेमा पनि जान्ने मौका मिल्यो !
    यस्ता लेखहरुले ब्लगको स्तरियता नै उकास्न मद्त पुग्दछ !

    ReplyDelete
  3. (न) रमाइलो घटनाको बिस्तृत जानकारी गराउनु भएकोमा धन्यबाद ! ट्युनिसियाका मान्छेले सुख पाउन | ज्यास्मिन क्रान्तिले नेपालीलाई पनि केही सिकाओस !

    ReplyDelete

Your feedback ?