लाँकुरी रुट्स

गजल - ४७ - उ नआओस्

Thursday, December 20, 2018

भो बरु जिन्दगीमा सफलता नआओस्
उ आओस् तर उ सँग मौनता नआओस्।

उ नौनी झैँ हृदय लिई आउँछे समीपमा,
म दियो झैँ सम्झन्छु उ यता नआओस्।

यो सिमाना यो दुरी पनि रहेछ जरुरी
त्यो आगो पानी झैँ हाम्रो एकता नआओस्।

यहाँ तपाईँ र म बाहेक बाँकि खत्तम छन्,
यसै ठिकै छ यहाँ अर्को देवता नआओस्।

मेरा पाईलाको ओज पछ्याउँदै मेरो सामु,
मेरो दुश्मन आओस् तिम्रो मित्रता नआओस्।

गजल - ४६ - सलाम छ

Friday, December 22, 2017


हर् नजरमा बेग्लै आयाम छ
ए जिन्दगी तँलाइ सलाम छ

पैसा' पछि व्यर्थ कुदियो
हिँड्न थालेदेखि आराम छ

दान दक्षिणा लुकेर गर्नु
चोरीचकारी खुलेआम छ

भिड त बडा गजबको हो
बस् नाइके पो बदनाम छ

भोट खासै नसोचि हालियो
सोचमग्न अब परिणाम छ

भेट्न अवश्य बोलाउनु
निम्तो मै नभन्नु काम छ

हिजै आउँथें हिलो थियो
आज फेरि चर्को घाम छ

विचार रुपि हतियार निस्कन्छन्
त्यो मगजमा ठुलै संग्राम छ

गालोस् जिन्दगीले थाहा होस्
हेरौं ममा कति सुन फलाम छ

चाडपर्वमा मन त्यहिँ पुग्छ
बाआमा जहाँ त्यहिँ धाम छ

उनको नाम लेखेर दराजमा
नपठाई राखेको खाम छ

निंद बहुत दूर गाउँमा छ
त्यहाँ सम्म शेरको लाम छ


गजल - ४५ - गाउँको तस्वीर

Wednesday, October 18, 2017

धेरै पछि गाउँको तस्वीर पठायो साथीले
उ त्यहाँ ठूलो खोला बग्थ्यो सुनायो भाइले।

माझीलाइ अँगाली छोप्छ सागरले जसरी
कैद गर्छ सपनाहरु मेरो पनि सिरानीले।

प्रश्न एउटै छ हजार देखि लाख ल्याउनेको
कसरी पुग्छ होला र खै यत्ति कमाइले।

जिन्दगी के हो सुख भन्दा दुखमा जानिन्छ
र यो अलिक कमै सिकाएका छन् पराईले।

यो शहरका मान्छे र भाग्यको दैनिकी उस्तै छ
खोरमा त्राश हुन्छ आज को तान्छ कसाईले

घटना र समय दुवै चाहिन्छ विचार फेरिन
ढुङ्गा बन्दैन माटो एकतमासको पर्खाइले।

गजल -२४- गर्व गर्ने ठाउँ छैन

Friday, September 8, 2017

जस्तो थियो हिजो अस्ति, उस्तो अचेल गाउँ छैन,
शिर उचाली, छाति ठोकि, गर्व गर्ने ठाउँ छैन ।

काँडाघारी जस्तो लाग्छ, त्यस्तो निर्मल फुलबारी
आफ्नै घर खेत पनि, ढुक्क भइ जाउँ छैन।

सोसेकै छन् सिउँडीले, जमीनको रस अझै,
भोका नाङंगा उस्तै अझै, नाइकेलाइ के खाउँ छैन।

युद्द सय, योद्दा हजार, शहिदको रास उत्ति,
सम्झेर मन ढुक्क हुने, कठै यौटै नाउँ छैन ।
Labels:

गजल -४४- प्रकृतिले

ढुङ्गा र देउतालाई झन्‌झन् दुरुस्त बनायो प्रकृतिले,
मान्छे र देउताको दुश्मनि अझै बढायो प्रकृतिले।

देउताको आश बास त्यहिँ बढि हुन्छ जानेझैँ गरेर
झुपडि तिरै भेल-बाढी डोर्‌यायो प्रकृतिले ।

म अब चट्टानका घर र माटोका मूर्ती बनाउँछु,
ढुङ्गा मात्र छोड्यो माटो सबै बगायो प्रकृतिले ।

पानीकै छानो पानीकै भूईँ घेर्यो चौतर्फ पानीले,
पानीमै जिन्दगीको आहुती जलायो प्रकृतीले।

हिमाल पहाड झट्कार्यो सिमसार खाडि बनायो
झारेर देउताकै काखमा झनै सतायो प्रकृतिले।