लाँकुरी रुट्स: गजल -२०- तिम्रो गाउँ पुग्दा

गजल -२०- तिम्रो गाउँ पुग्दा

Tuesday, November 9, 2010

लाग्छ घाम जानी जानी, झर्छ तिम्रो गाउँ पुग्दा,
र त सधैं सधैं साँझ, पर्छ तिम्रो गाउँ पुग्दा।

हाँगा नुहि चुम्न खोज्छ, पात लजाउँदै लुक्छ,
स्वागतमा फूलै अघि, सर्छ तिम्रो गाउँ पुग्दा।
र त ...

आफ्नो छायाँ आफै सँग, लुकामारी खेल्न थाल्छ,
तगारोमा अड्के जस्तो, गर्छ तिम्रो गाउँ पुग्दा।
र त...

एकै घुँट पानी माग्दा, सौर खुल्छ यो ठाउँमा,
बलेसीले पनि प्यास, भर्छ तिम्रो गाउँ पुग्दा।
र त ...

जून जस्तो तिम्रो मुहार, सम्झि हिँड्दा प्रकृतिले,
गोरेटोमा सिँदुरे रङ, छर्छ तिम्रो गाउँ पुग्दा।
र त ...

आज भोलि बानी पर्यो, आफ्नै जस्तो लाग्न थाल्यो,
अघि बढ्ने जाँगर त्यसै, मर्छ तिम्रो गाउँ पुग्दा।
र त ...
Labels: poem, ghazal, gazal, village, rhythm, evening, rain, shadow, flowers, leaves, leaf

5 comments:

  1. nice. gre8....i will reply for this gazzal.

    ReplyDelete
  2. गजल गज्जब लाग्यो...बिहान अलिक चांडै हिंड्नु देखि बाहेक सुधार्ने खासै ठाउँ देखिएन |

    ReplyDelete
  3. त्यै त, गाउँ अलि टाढा नै रहेछ | मिलनजीले भनेजस्तै बिहान सबेरै हिंड्नु बेस होला | गजल बेजोड छ |
    कैले देखि बसले भुँ भुँ गर्छ उनको गाउँ पुग्दा ?

    ReplyDelete
  4. 'तिम्रो' गाउँ त कता-कता अलि विरोधाभास जस्तो है ! कहिले स्वागतका लागि फूल नै अगाडि सर्ने र कहिले चाहिँ आफ्नै जस्तो लागे पनि त्यता जाने जाँगरै मर्दोरै'छ !
    जे भए पनि मीठो छ गजल । तर अर्धविरामको प्रयोगले अड्काउँदो रै'छ पड्दा खेर

    ReplyDelete
  5. हार्दिक धन्यवाद यहाँ हरूलाइ ।
    सिता जी को प्रत्युत्तर गजल यहाँ राख्नु भएको छ : http://sitasubediprakriti.blogspot.com/2010/11/blog-post_10.html धेरै धेरै धन्यवाद !
    मिलन जी र चैतन्य जी र धाइबा जी को सुझावको लागी आभारी भएँ । धाइबा जी, 'त्यता जाने जाँगर मर्ने' भन्दा पनि त्यहाँ पुगे पछि ढाडे बिरालो जस्तै प्यारो भएर त्यतै कतै ढल्किन पाए हुन्थ्यो भन्ने बताउन खोजेको अलि ढङ्ग पुगेन क्यार ! धेरै धन्यवाद यहाँलाइ !

    ReplyDelete

Your feedback ?