लाँकुरी रुट्स: सुमिना

सुमिना

Tuesday, March 30, 2010

भन्दै थिएँ केटाहरूलाई आज बिहिबारै नगरौँ भनेर। कसैले टेरपुच्छर लाको होईन। पार्टी र डान्स भनेपछि सुकेको हड्डी पनि रसाउन थाल्छ ब्रो हरुको । अस्ति भर्खर ख्रिष्टमस को पार्टीमा भैलो खेले पछिको पार्टीको ह्याङ् ले छोडी सकेको छैन फेरी पाँच नबज्दै कलेजको गेटमा आईपुगे साथीहरू बाईक लिएर । विध्यार्थीले देखे भने पनि के भन्ने होलान् । भर्खर २ हप्ता भो क्लास लिन सुरू गरेको । 

यत्ति सम्झेको याद छ हिजो साँझ । हिजो अर्थात २०७२ साल पौष १७ गते । संविधान लेखि सकेको बेला होला भनेर सोच्दै होलाउ २०६६ सालमा पढ्ने साथी हो, अझ २ वर्षमा त पक्कै लेख्ने रे । टाउको भारी भै'राछ बर्ष पनि मिलाएँ कि मिलाईन खै, जे होस् चाँडै बन्छ रे । यसो घडि हेरेको साल त ठिकै हो जस्तो लाग्यो तर समय देखेर चाँही 'झिलिमिलि झिलिमिलि देउसीको झिलिमिलि - देउसुरे' भयो । बिहान को ५ बजि सकेछ । पुरानो बानेश्वरको छ्याङ् अड्डा बाट निस्केपछि अहिले यो गौशालाको क्याबिन को ढोकामा कसरी आईपुगेँ अत्तोपत्तो छैन। जिग्रीहरू पनि सब अन्तर्ध्यान। हतार हतार कपाल मिलाएर सकि नसकि उठ्दै कमेज पाईन्टमा कोच्न खोज्दै थिएँ, कुन बज्जियाले ढोका खोलेर झन्डै नालीमा खसाएन । जोगिन खोज्दा खोज्दै गौमाता को गोबरले गर्दा पाप चाहीँ पखाल्न पाईने भयो जस्तो लाग्यो । अझै पशुपति भित्र साँढे छ भन्ने आशमा गाईहरूले गौशालाको बाटो जाम गर्न छोडिसकेका छैनन्। गणतन्त्र को पहिलो कोसेली निरपेक्षता यिनलाई के थाहा । तेसै हो र गाई झैँ  सोझो भनेको  ? 

गाईको सोझोपनको बखान गर्दै थिएँ भित्र बाट अर्को गोरू निस्क्यो । हिजो लोडसेडिङ्को मौका पारेर भित्र छिरेको डन्ठे पो रैछ । यसैले हो हिजो पनि मलाई निकालेर आँफुले ड्युटी गरेको । रिसले पुक्काईदिउँ झैँ लागेको थियो भएभरको बलले मुठ्ठी बनाएर हनुमान को जस्तो मुख बनाउँदै थिएँ गोरुले डन्ठो घुमाएर पिड्यौँला तताई हाल्यो पुषको चिसोमा । मुठि पनि फुक्यो, मुख पनि सुक्यो । 'ओए, को होस् परिचयपत्र निकाल' भन्यो । ' साला हवल्दार हिजो भर्खर सँगै झोल खाँदै 'बाबाजीको प्रसाद दे दे बेटा हम्‌को भि थोडा'  भन्दै थियो । अहिले को अहिले सडकमा निस्के पछि नेपाली सँगै परिचयपत्र माग्छ । यस्को घाँडो पन्छाईहाल्नु पर्यो - उता ७ बजे देखि पढाउन जानु पर्नेछ भन्दै पर्स निकाले । फेरी झट्ट सम्झेँ नागरीकता त सच्चाउन पो दिएको छ त । पासपोर्ट मात्र Machine Readable भएर भएन रे अब नागरिकता पनि Machine Readable बनाउने भनेर भारत पठाका , मेरो जन्मस्थल 'लुम्बिनी अन्चल, भद्रपुर नगरपालिका, बिहाघरे-३' हुनुपर्ने 'बिहाघरे' लाई बिगारेर 'बिहारे' बनाईदिएछन्। त्यही सच्याउन पठाएको खै कहिले पो आउने हो । केहि भएन यस्लाई देखाउने अब के गर्ने होला भनेर सोच्दै थिएँ डन्ठेले खोसी हाल्यो पर्स । त्यही भएको १०० रुपियाँ पनि झिकेर खल्तिमा कोच्यो, गाडीभाडा को नाम मा त्यत्ती थियो। फेरी सम्झेँ हिजो अपर्झटको लागी भनेर अर्को १०० रुपैँया त मोजा मा कोचेको थिएँ क्यार । ६० रुपैँया भएपछि त गौशाला देखी बानेश्वर सम्म पुगिन्छ माईक्रोमा । मिति केरेको अस्कल को डिस्काउन्ट कार्ड पनि छँदैछ । थुक्क, डन्ठेले तेई कार्ड फेला पारेछ । 'विद्ध्यार्थी भएर यसरी गल्लि गल्लिमा हिँड्ने' भन्दै भाषण सुरू भइहाल्यो आफुँ स्कुल बाट भागेर भौँतारीँदा भौँतारिँदा लास्टाँ डन्ठे भाको बिर्सेर म माथी लेक्चर दिन थाल्यो ।

मलाई असह्य हुँदै थियो एक्कासी पशुपति क्षेत्र भित्रबाट कसैले माईकमा ठुलो स्वरले 'हाम्रो नेपाल हाम्रो देश, हाम्रो भाषा हाम्रो भेष' भनेर चिच्यायो । मलाई आकाशवाणी भए जस्तो लाग्यो , 'स्वस्थानी' भन्ने फिलिममा यस्तै गरी आकाशवाणी हुन्थ्यो । कतै पार्वतीमाता लाई असह्य भएर साक्षातकार त गरिनन् । शुक्रबारको एकाबिहानै कुन बहुलाईनि हो यसरी कुर्लने , भनेर अचम्म लाग्यो । डन्ठेको बर्दीले लतार्यो उतै तिर र अझ सुरो भएर मेरो पर्स भुँईमा फालेर दौड्यो उतै 'को हो त्यो शान्ती मास्न दुष्प्रयास गर्ने? मर्यो त्यो आज मेरो हात बाट' भन्दै । गएको २ मिनेटमै फेरी हस्याङ्‍ फस्याङ् गर्दै तेई बाटो हुँदै भागेर फर्कयो पनि । 

यसो हेर्छु त लगभग १०० जना जति स्कुले पोषाकका विद्यार्थीले पो खेदेका रहेछन् विचरालाई । म अवाक भएँ। आज 'सरस्वति पुजा' पनि हैन् , फेरी 'जयन्ती' मनाउन छोडेको पनि ३,४ वर्ष भै सक्यो। अलि नजिक बाट हेरेको त आफ्नै कलेजका तन्नेरी हरू रहेछन्। हैन आज बिदा रैछ, पढाउन जान पर्ने भएन भनेर मनमनै अर्को पेग व्हिस्की लगाएँ । खुसीले गद्गद् हुँदै तिनिहरूको चर्तिकला हेर्न थालेँ । माईक बोकेर भिडै भिडको माझमा 'सुमिना'ले भाषण गर्दै थिईन् । उनको त्यो मुहारको तेज देखेर म सँधै अचम्म पर्ने गर्दथेँ । कलेजमा सबै साथी र शिक्षककी प्रिय पात्र थिईन उनी । उनको लगनशिलता र मिहिनेतले गर्दा रिजल्ट पाटीमा सँधै माथी हुन्थ्यो उनको नाम । ज्यादै हठी स्वभावकि उनले पत्र पत्रिका पढ्ने, ईन्टरनेट बाट देश विदेशका समाचारको विश्लेषण गर्ने पनि गर्दथिन् । नेपाल र नेपाली भाषाको माया गर्ने उनको बानी सम्झेर अघिको आकाशवाणी सम्झेँ, गर्वले मुटु ढक्क फुलेर आयो। कमर्स पढेर ईकोनोमिक्समा स्पेसेलाईज गरी बाबुराम भट्टराईले जम्मा गरेको अर्थलाई देशमा सहि रूपले लगानी गर्ने सिद्दान्तको विकास गर्नुपर्छ भन्थिन् । त्यस्ती 'सुमिना'लाई आज एक्कासी के भयो ? यो के को भिड हो ? के उनी पनि सबै विद्यार्थी जस्तै राजनितिमा पसेर दल खोल्छिन् ? के उनि पनि अब नेता बन्छिन अनि नेपाल को त्यो सपना बिर्सिन्छिन ? अनेक प्रश्न उठ्न लागे मेरो मनमा । सबै प्रश्न छोडेर छेवैको एउटा भाईलाई सोधेँ, 'भाई यो के गरेको ?' उस्ले पुषको चिसोमा मुखबाट तातो तातो हावा फ्याँक्दै भन्यो, 'देशको यो बिग्रँदो परिस्थितीलाई पार लगाउन अब हामीले नै केही गर्नु पर्छ' भनेर हामीले यो 'बंकर्स पार्टी' को आयोजना गरेको सर' । मलाई एक्कासी २०६६ सालको घटना याद आयो - साला पुलिस हरू जहिले -याक गर्छन् ।

 पुलिस भन्दा साथ अघिको डन्ठे चोट बल्झिहाल्यो र मोजाको पैसा पनि । यसो मोजा छामेको पैसा त के हुन्थ्यो कुन मोरीले 'शिखर' चुरोट नपाएर बेरेर सल्काईहोली । 'आऽऽऽऽ कलेज बिदा रै'छ बालै भएन कोठामा गएर मस्त सुतिन्छ' भन्दै पुरानो बानेश्वर हुँदै लागेँ नयाँ बानेश्वर तिर । सुमिनाको स्वर र वचनहरू पर सम्म प्रष्ट सुनिँदै थियो ।

 त्यो बिहान पनि आउँछ होला । 

2 comments:

  1. Moro ko article ni bujhnai chhodiyo baa...
    त्यो दिन नआओस्' भन्छु म ।

    ReplyDelete
  2. Prakash, desh ko sama-samayik ghatana ma aadharit ho sathi ... main focus chai asti babylon disco ko 'Bunkers Party'ma ...

    ReplyDelete

Your feedback ?