लाँकुरी रुट्स

गजल - ४५ - गाउँको तस्वीर

Wednesday, October 18, 2017

धेरै पछि गाउँको तस्वीर पठायो साथीले
उ त्यहाँ ठूलो खोला बग्थ्यो सुनायो भाइले।

माझीलाइ अँगाली छोप्छ सागरले जसरी
कैद गर्छ सपनाहरु मेरो पनि सिरानीले।

प्रश्न एउटै छ हजार देखि लाख ल्याउनेको
कसरी पुग्छ होला र खै यत्ति कमाइले।

जिन्दगी के हो सुख भन्दा दुखमा जानिन्छ
र यो अलिक कमै सिकाएका छन् पराईले।

यो शहरका मान्छे र भाग्यको दैनिकी उस्तै छ
खोरमा त्राश हुन्छ आज को तान्छ कसाईले

घटना र समय दुवै चाहिन्छ विचार फेरिन
ढुङ्गा बन्दैन माटो एकतमासको पर्खाइले।

गजल -२४- गर्व गर्ने ठाउँ छैन

Friday, September 8, 2017

जस्तो थियो हिजो अस्ति, उस्तो अचेल गाउँ छैन,
शिर उचाली, छाति ठोकि, गर्व गर्ने ठाउँ छैन ।

काँडाघारी जस्तो लाग्छ, त्यस्तो निर्मल फुलबारी
आफ्नै घर खेत पनि, ढुक्क भइ जाउँ छैन।

सोसेकै छन् सिउँडीले, जमीनको रस अझै,
भोका नाङंगा उस्तै अझै, नाइकेलाइ के खाउँ छैन।

युद्द सय, योद्दा हजार, शहिदको रास उत्ति,
सम्झेर मन ढुक्क हुने, कठै यौटै नाउँ छैन ।
Labels:

गजल -४४- प्रकृतिले

ढुङ्गा र देउतालाई झन्‌झन् दुरुस्त बनायो प्रकृतिले,
मान्छे र देउताको दुश्मनि अझै बढायो प्रकृतिले।

देउताको आश बास त्यहिँ बढि हुन्छ जानेझैँ गरेर
झुपडि तिरै भेल-बाढी डोर्‌यायो प्रकृतिले ।

म अब चट्टानका घर र माटोका मूर्ती बनाउँछु,
ढुङ्गा मात्र छोड्यो माटो सबै बगायो प्रकृतिले ।

पानीकै छानो पानीकै भूईँ घेर्यो चौतर्फ पानीले,
पानीमै जिन्दगीको आहुती जलायो प्रकृतीले।

हिमाल पहाड झट्कार्यो सिमसार खाडि बनायो
झारेर देउताकै काखमा झनै सतायो प्रकृतिले।

गजल -४३- जोरी कस्छन्

Wednesday, August 9, 2017

विचार नि यस्ता आउँँछन् सुनायो कि जोरी कस्छन्
मानिस हो मानिसले आखिरी तमस् मा डोरी कस्छन्

चोर मुस्कराउँदै कैद पस्यो माला ला'एर निस्क्यो
यो रमितामा पुलिस खै कसरी नचोरी बस्छन्।

छिः कस्तो फोहोरी खेल भो राजनिती त्यहाँ
पसेपछि फोहोर हुन्छन् कि वंशाणु फोहोरी पस्छन्।

कृष्णजी सुदामाका घर आए थोरै खाए अघाए
र भने महलमा त बडा बडा अघोरी बस्छन्।

भो नटक्टक्याउ रहन देउ धुलो पर्दा हो
त्यस एल्बम भित्र ओ! प्रिय मेरा कमजोरी बस्छन्।

गजल -४२- छाप कसैको

Sunday, July 2, 2017

बस्दछ यसरी छाप कसैको
नसोच्नु कहिल्यै पाप कसैको।
म बाटो तर्की घुमेर आएँ
भैदियोस भनेर मिलाप कसैको।
लेखियुन गजल यस्तरी लाग्दछ
याद कसैको होस् आलाप कसैको।
हेरि बस्दछन हाँगा पात फूललाई
मनोमानी कसैको सन्ताप कसैको।
फेरिइरहुन् यि तन्त्र सँधै
र होस् कमसेकम फलिफाप कसैको।
ब्याट्रि कुनामा बुलुप घुरी बस्छ
उज्यालो कसैको अभिशाप कसैको।
रिझाएर हैन बिझाएर जितिन्
र भनिन् थिएन करकाप कसैको।
कर्म गर्नु फलको आश नगर्नु
हुँदैछ तक्मामा हानथाप कसैको।
एक्लै बसाउँछ बस्ति दिनेश (तामाङ्)
चाहिन्न उसलाई धाप कसैको।
फेरि फेरि हुन्छ पदग्रहण
ठाउँमा भैदिए माइ-बाप कसैको।
रुखै मुनि झर्ने भए फल सँधै
ईनाममा किन होस् नाप कसैको।
म भन्न सक्छु यस्तै सयौं शेर अरु
तर किन उरालौं रक्तचाप कसैको।