लाँकुरी रुट्स

गजल -४४- प्रकृतिले

Friday, September 8, 2017

ढुङ्गा र देउतालाई झन्‌झन् दुरुस्त बनायो प्रकृतिले,
मान्छे र देउताको दुश्मनि अझै बढायो प्रकृतिले।

देउताको आश बास त्यहिँ बढि हुन्छ जानेझैँ गरेर
झुपडि तिरै भेल-बाढी डोर्‌यायो प्रकृतिले ।

म अब चट्टानका घर र माटोका मूर्ती बनाउँछु,
ढुङ्गा मात्र छोड्यो माटो सबै बगायो प्रकृतिले ।

पानीकै छानो पानीकै भूईँ घेर्यो चौतर्फ पानीले,
पानीमै जिन्दगीको आहुती जलायो प्रकृतीले।

हिमाल पहाड झट्कार्यो सिमसार खाडि बनायो
झारेर देउताकै काखमा झनै सतायो प्रकृतिले।

गजल -४३- जोरी कस्छन्

Wednesday, August 9, 2017

विचार नि यस्ता आउँँछन् सुनायो कि जोरी कस्छन्
मानिस हो मानिसले आखिरी तमस् मा डोरी कस्छन्

चोर मुस्कराउँदै कैद पस्यो माला ला'एर निस्क्यो
यो रमितामा पुलिस खै कसरी नचोरी बस्छन्।

छिः कस्तो फोहोरी खेल भो राजनिती त्यहाँ
पसेपछि फोहोर हुन्छन् कि वंशाणु फोहोरी पस्छन्।

कृष्णजी सुदामाका घर आए थोरै खाए अघाए
र भने महलमा त बडा बडा अघोरी बस्छन्।

भो नटक्टक्याउ रहन देउ धुलो पर्दा हो
त्यस एल्बम भित्र ओ! प्रिय मेरा कमजोरी बस्छन्।

गजल -४२- छाप कसैको

Sunday, July 2, 2017

बस्दछ यसरी छाप कसैको
नसोच्नु कहिल्यै पाप कसैको।
म बाटो तर्की घुमेर आएँ
भैदियोस भनेर मिलाप कसैको।
लेखियुन गजल यस्तरी लाग्दछ
याद कसैको होस् आलाप कसैको।
हेरि बस्दछन हाँगा पात फूललाई
मनोमानी कसैको सन्ताप कसैको।
फेरिइरहुन् यि तन्त्र सँधै
र होस् कमसेकम फलिफाप कसैको।
ब्याट्रि कुनामा बुलुप घुरी बस्छ
उज्यालो कसैको अभिशाप कसैको।
रिझाएर हैन बिझाएर जितिन्
र भनिन् थिएन करकाप कसैको।
कर्म गर्नु फलको आश नगर्नु
हुँदैछ तक्मामा हानथाप कसैको।
एक्लै बसाउँछ बस्ति दिनेश (तामाङ्)
चाहिन्न उसलाई धाप कसैको।
फेरि फेरि हुन्छ पदग्रहण
ठाउँमा भैदिए माइ-बाप कसैको।
रुखै मुनि झर्ने भए फल सँधै
ईनाममा किन होस् नाप कसैको।
म भन्न सक्छु यस्तै सयौं शेर अरु
तर किन उरालौं रक्तचाप कसैको।

हर्क्युलसहरु

Wednesday, February 3, 2016

हाम्रा हर्क्युलसहरु
जिउसका पुत्र
पर्सियस का बन्धुहरु 
मिथोलोजिका तिनै साहसि महारथी जस्ता भए
तिनका तरवार-भाला जस्ता कलमका गाथा  
एक दशक नबित्दै  
पौराणिक कथा झैँ भए 
चर्चा चल्दा प्रश्न उठ्छ  
कुन समुन्द्रमा 
कुन समुन्द्रको देशमा 
कुन समुन्द्रको देशको अजङको सर्पको ढाडमा 
लम्पसार परेका छन
या छन यहिँ कहिँ  
नाचिरहेछन  
यो चक्र्व्युहमा
रुमल्लिरहेका छन्
यो आँफैले ल्याएको भुमरिमा 

तिमिहरुले नारायणहिटी बाट  
नारायणहिटिको दुलो बाट  
निकालेर शिरच्छेद गरेको अजिङ्गरहाइड्रा रहेछ 
एउटा काट्यौ अहिले 
सयौँ टाउका बनेर डसिरहेछ
विषवमन गरिरहेछ
तराइमा आगो ओकल्छ
सुदुरमा विषालु दाँत गाड्छ
पहाडको घाँटी बेर्छ
दिल दिमाग र चेत नभएका 
जम्बिजस्ता मुर्कट्टाहरुले मधेश हाँक्छन
एउटा टाउको काटदा हज्जारौँ पलाए
छाउरा अजिङ्गरहरु शक्ति सन्चय गरिरहेछन 
मोटाइरहेकाछन 
फुलिरहेकाछन
ढाडिईरहेका छन अझै हाइड्राहरु 
अब, फेरि कहिले निस्कलान 
धुरी धुरी बाट 
भाला तरवार जस्ता कलम बोकेर सडकमा 
हर्क्युलसहरु
जिउसका पुत्रहरु
त्यो मिथोलोजिका पौरखि पात्रहरु
त्यो अलकत्रे सडकका ति आन्दोलित कविहरु

गजल -४१- अखबारहरूले

Tuesday, September 10, 2013

सँधै आफ्नैका मात्र छाप्दैनन् अखबारहरूले,
सँधै नराम्रा मात्र छाप्दैनन् अखबारहरूले।

बेवारिसे मैला राता पछ्यौरीका गाथा छन्,
सुकिला कथा मात्र छाप्दैनन अखबारहरुले।

आफ्नो भाषण आफैले लेख्नुहोस कुनै दिन,
नभनेका कुरा मात्र छाप्दैनन अखबारहरुले।

खाँदै नखानेहरुको विसेषाङ्क छ यसपाली,
खानेको रमिता मात्र छाप्दैनन अखबारहरुले।

अनुराधा पुष्पाका कथा देखिन्छन् आकलझुकल,
हिसिला सरिता मात्र छाप्दैनन् अखबारहरूले।

भारत विरुद्द नेपाल विजयी पढिन्छ कहिलेकाहिँ,
नेताका फोटा मात्र छाप्दैनन् अखबारहरूले।

प्रसङ्ग : फुटबल