लाँकुरी रुट्स: भालु, श्यामशरण र हाम्रा नेता !

भालु, श्यामशरण र हाम्रा नेता !

Friday, August 13, 2010

हाम्रो समाजमा भालुका पुराण धेरै लोकप्रिय छन् । एउटा त्यस्तै लोककथा यस्तो छ:-
टन्टलापुर घाम लागेको बेला आलस्य मार्न एकपटक स्याल र भालु जङ्गलको छेउ छेउ हुँदै टहलिँदै रहेछन्। आफ्नै विगतका कर्तुत सम्झेर अनि आफूलाई अर्को भन्दा बाठो साबित गर्ने होड चलेको थियो। स्यालले आफ्ना कथा सुनाउने भालुले त्यो भन्दा ठूलो अरूलाई ठगेको कथा सुनाउने। यस्तै कुरा गर्दा गर्दै उनीहरू एउटा खेतको नजिक पुगेछन् जहाँ २ बुढा-बुढी असाध्य मायाका कुरा गर्दै र गीत गाउँदै खेत रोपिरहेका थिए। एकैछिन खेत नजिकको चौतारीमा बसेर स्याल र भालुले उनीहरूका कुरा सुने, स्यालले आहा! कस्तो मिलेको जोडि’ भनेर उनीहरूको प्रशंसा गर्दै थियो। भालुलाई अघि कुरामा आफु पछि परेको रनको थियो। यत्तिकैमा भालुले भन्यो ‘म तिनीहरूको झगडा गराइदिउँ ?’ स्यालले भन्यो ‘त्यस्तो आपसी प्रेममा, यत्रो वर्ष सम्म सद्‌भाव र सल्लाहमा जीवन बिताइसकेका बुज्रुकहरूलाई तँ नाथेले कसरि झगडा गराउन सक्छस्? ल बाजी नै ठोक्छु तेरो केहि लछारपाटो लागेछ भने त’ । भालुले मौका पाइहाल्यो ‘तँ हेर्दै गर् मात्र’ भन्दै जुरुक्क उठ्यो।
त्यहाँ बाट खेतको आलीमा गएर बुढालाई ‘यता आउनुस् न बाजे थोरै काम छ’ भनेर डाक्यो। बुढाले ‘के काम हो? त्यहीबाट भने हुँदैन?’ भन्दा ‘हैन, यहीँ आउनुस् न अलि गुप्ती कुरा छ, कान्लाका पनि कान हुन्छन् भन्थे’ भन्यो। बुढाले बाउसो बोकेरै भालु नजिक गए। भालुले बुढाको कानमा केही नभनि खुसुरफुसुर गरेर छोड्यो। बुढा केही बुझेनन् र फत्फताउँदै फर्केर उही बाउसेको काममा लागे, भालु फर्केर स्यालको छेउमा गएर बस्यो। स्यालले फटाहा हाँसो हाँस्दै ‘खै त बुढा-बुढी झगडा गरेको’ भन्न थाल्यो। भालुले चुप्प लागेर बुढा बुढीलाई हेर्दै थियो। उता एक छिन पछि बुढीलाई खुल्दुली लागेछ, बुढाले आएर भन्लान् भन्ने लागेको थियो। तर बुढा त आएर पकऽपक खन्न थाले । एक छिन सम्म बुढाले केहि नभने पछि बुढीले सोधिछन् ‘अघि त्यो भालुले के भन्यो?’। बुढाले हाँस्दै ‘केही हैन प्रिय, छिटो रोपाई सकेर घर जाउँ’ भन्दै आफ्नै काममा लागेछन्। एक छिन पछि फेरि बुढीले ‘हैन केही त भन्यो होला, मलाई नभन्ने?’ भनेर सोधिछन्। फेरी बुढाले हाँस्दै ‘केही हैन भनेँ त, खुसुरफुसुर गर्यो गयो’ भनेछन्। बुढीलाई यसरी कुरा लुकाएकोमा भाउन्न भएर रुँदै गाली गर्न लागिछन् ‘यत्रा वर्षसम्म मैले माइती, दाई भाई, मामा माईजु सबैका कुरा तिमी सँग भन्ने ऐले आएर त्यो भालुको कुरा तिमीले म सँग लुकाउने’ भन्दै आलीमा बसिछन् । बुढालाई पनि खपि नसक्नु भएछ र ‘तँ सँग सत्य बोल्दा पनि नहुने, विश्वास लाग्न छोड्यो मेरो ?’ भनेर भन्किँदै मेसो छोडेर ब्वाङ-ब्वाङ खन्न थालेछ। उता भालुले स्यालको कुममा हात राख्दै भन्दै थियो ‘देख्यौ त मित्र, झगडा भयो कि भएन?’ स्याल वाँ परेछ।
भालुले फेरि भन्यो ‘अब दुवै जनाको मिल्ती गराईदिउँ?’ भर्खरै हार चाखेको स्यालले ‘कसरी झगडा गरायो’ भनेर सोच्दै थियो, केहि बोलेन। भालु आलीमा गएर ‘के छ बज्यै’ भन्दै बुढीको छेउमा बस्यो । बुढीले बुढाको कर्तुत सबै भनिन्, आफ्नो बिहेदेखि को इतिश्री सुनाउँदै गर्दा भालु मुसुमुसु हाँस्दै सुनिरहेको थियो। बुढीले अन्तिममा ‘के भन्या हो मेरो बुढोलाई?’ भनेर सोधिन्। बुढाले फेरि बुढीको कानमा गएर खुसुरफुसुर गर्यो। बुढीले कुरा बुझिहालिन् । अनी भालुलाई गालि गरेर लखेट्दै फेरि बुढा थिम गइन् र फकाउन थालिन्। एक छिन पछि बुढाले सोध्यो ‘के भन्यो त तँलाई भालुले?’ बुढिले ‘अघि तिम्लाई जे भन्या थ्यो मलाई पनि त्यही भन्यो’ भनिछन् र उनीहरू फेरि उही प्रेमिल तरिकाले आफ्नो खेतको काममा लागेछन्।
‍‍‍..........................


'रिमोट चलाउने प्रभुका विशेष दुत' श्यामशरण भारत बाट आएर बाबुरामलाई ‘एकल दर्शन भेट दिएकोमा’ प्रचण्डजी ले चित्त दुखाउनु भएको छ रे जबकी बाबुराम ले ‘वहाँ चिया खानको लागी मात्र आउनु भएको हो’ भन्नुभएछ । श्यामशरण लाई पनि प्रचण्डको हवेलीमा चिया खान गइदिन बिन्ती गरिदिनु पर्यो। नत्र त बाबुराम माथि पार्टिले कारवाहि गर्ने प्रस्ताव ल्याउँदै छ रे। 'फुटाएर राज गर्ने' Divide and Rule, 'ढाडमा टेकेर टाउकोमा हान्ने' भन्ने जस्ता वाक्याशंलाई प्रचलित बनाएका ती पथ प्रदर्शक लाई अहिले के भो ? के सत्ता-लिप्सा त्यति विषालु हुन्छ ? सबै चेतना मारेर अन्धो नै बनाइदिने । 

नागरिक न्युज मा डा. बाबुराम भट्टराईको अन्तर्वार्ता :-

1 comment:

  1. कथाको बुढा-बुढी त एक पटक झुक्किए । आर्को पटक फेरि भालुले त्यही बुद्धी लगायो र त्यस्तै कुरा गरेर झगडा पार्न खोज्यो भने सायद बुढा-बुढी कोही पनि झुक्कीदैन थे होलान ।

    तर यहाँ त भालु साह्रै चालु भएको हो वा हाम्रा नेताहरु महामुर्ख ...जत्ति पटक कानमा खुसुरफुसुर गरे पनि यीनीहरु सधैं नै झुक्कीन्छन् :)

    ReplyDelete

Your feedback ?