लाँकुरी रुट्स: ३, ६, ९, १२ !

३, ६, ९, १२ !

Friday, July 9, 2010

उनका मेरा भेट हरू अचेल प्रायः मौनतामै घुमेर बित्छन्। बन्द सिसा भित्र पला गन्दै घुम्ने, त्यही भित्ते घडीका सुई जस्तै - ३, ६, ९, १२ । चहकिला जून होस्, निछ्याम्म अँध्यारो होस्, साँझ, बिहान, दिउँसो , सँधै जसो एकनास एकले अर्कोलाई पछ्याउँदै, हिजो-आज-भोलि सँधै भरी एउटै गोलार्दमा, बस चुपचाप, मात्र पदचाप अनि, टिक्‌टिक्‌टिक् - ३, ६, ९, १२ । यसको यो गोलचक्र तोडेर तनक्क फुट झैँ तन्काएर छोडिदिन पाए, मेरो शरीर देखि उनको शहर सम्म लडाइदिन पाए - तेर्सो पारेर उनको धरो जस्तै, अनि  बल्ल गन्दो हो - ३, ६, ९, १२, १५, १८, ...... । अनि बल्ल हुन्थे होला, हात र पटुकीका कुरा । रोदिघर र मारुनीका कुरा । बारूली कम्मरका कुरा । यौवनका कुरा , घाम पानी का कुरा । ३ प्लस ६ प्लस ९ बराबर अठारका कुरा। जीवनमा पहिलो पटक गरेका कुरा । घरमुनीको सिमल, घरमाथि को हलेदोका कुरा, भञ्ज्याङको लाँकुरीका कुरा  । रित्तो गाग्री र प्यास बोकेर धाउने पँधेरोका कुरा। पँधेरो सम्म पुग्ने बाटोका कुरा, अलि टाढा भए त हुन्थ्यो नि एउटा गीत सकिने, छेल परेको बाटो होस् न - नाच्दै उफ्रँदै जान पाईयोस अनि पाईला गन्दै फर्कन पाईयोस् - ३, ६, ९, १२ । भरी गाग्रो अडाउने फेरी त्यही पटुकीका कुरा, यस्तै यस्तै कुरा, त्यो चिसो हावा बोकेर आउने आधा खुलेको झ्यालका कुरा । बन्द कोठाका कुरा, कार्पेट मुनि धुलो बोकेका पाना का कुरा । कसैले नदेखेको, कसैले नलेखेको, कसैले नसोधेको, कसैले नखोलेको त्यो डायरीका कुरा। सुरु भए पो फर्काउनु हुन्थ्यो १,१ गर्दै तिम्रा भोगाइका पाना ३, ६, ९, १२ भन्दै । झ्यालबाट रुखमा सुस्ताउन बसेका चरा गन्दै, सकेसम्म जोडि खोज्दै, जोड संख्यामा पुगेर रोक्ने भन्दै ३, ६, ९, १२। चराले अडिन खोज्दा खसालेका पात गन्दै । केटाकेटीले छेवैको खले गरोमा बनभात खाएर, अगेनो नभिजाइ छोडेको आगोमा पर्ने पातको सङ्ख्या गन्दै । घिउ परेर आगो ह्वार्र दन्कँदा, मण्डपमा तिमी दाहिने म देउरे, अनि होमन् गर्दा पण्डितले पल्टाउदै गर्थे वेदका पाना ३, ६, ९, १२ । अनि पञ्चाङ्गको तिथि मिति हेर्दै बित्थे दिन्, ७ फेरो घुमे पछि युरोप, एसिया, अमेरिका, अष्ट्रेलीया सबै घडीका सुई फरक फरक समय पारेर - ३, ६, ९, १२ । 

4 comments:

  1. एउटा बेग्लै शैली , बडो मिठो भाव | भावुकता, कल्पना र तर्कनाको रमाइलो प्रस्तुति !

    ReplyDelete
  2. Aahaa kati raamro sanga lekhnu vayechha....:) पढीरहेको छु भन्ने कुरो त बिर्सेछु, pattai napaai padisakiyechha...3,6,9,12...टिक...टिक..टिक...

    ReplyDelete
  3. आहा कस्तो राम्रो ऋजना, कस्तो कल्पना शक्ती!

    ReplyDelete
  4. कति राम्रो नोस्टाल्जिक कुरा :)

    ReplyDelete

Your feedback ?