लाँकुरी रुट्स: हिमपहिरोको योद्दा #Pokhara

हिमपहिरोको योद्दा #Pokhara

Sunday, May 6, 2012

आज बिहान उठ्दा बित्तिकै सुरु भएको हिमपहिरो को खबर देखेको बेला र अहिले सुत्ने बेलामा, म उसै अवस्थामा छु तर दिनका सामान्य गतिविधि र पारिवारिक समय बाहेक मानसिक र केहि अनुमानका दृष्यात्मक झझल्कोहरूमा अनेकौँ यात्रा गरियो ।
बिहानै उठेर BBC, CNN को वेबसाईट भन्दा पनि पहिला ट्विटर हेर्ने बानी परेको छ। अनि आजको बिहानी त्यहि खलबल बाट सुरु भयो। सुरुका २ घन्टा जस्तो ईन्टरनेट र टिभिमा कतै कुनै दृष्य थिएनन् - मात्र अपडेट थियो त पोखराबाटै ट्विट गर्ने साथीहरूका शब्द र नेपाल टेलिभिजन (Live Online)मा देखिने हेडलाईन को स्क्रोल। सबैका आ-आफ्नै कुरा थिए, कतिले पुरै पोखरा डुबानमा भने, कतिले सामान्य क्षति भएको भने, कतिले स्कुले बालबालिका सहितको बस समेत परेको भने, कसैले के भने, कसैले के भने । यि सबै शब्दहरू देख्दा दिमागले अनेकौँ खालका अनुमान गर्दै थियो तर आँखैले नदेखेसम्म केहि विश्वास गर्न मन लागेन। ११ बजेको समाचारमा नेपाल टेलिभिजनले बल्ल करिब २ मिनेटको भिडियो सहित भृजङ्ग खोलामा कम्तिमा २० घर बगाएको, ३ शव फेला परेको भन्दै समाचार पढ्यो । त्यस clip मा मानिसहरू खोलाबाट केहि उचाईमा बसेर खोलो हेर्दै थिए, कोहि तस्विर लिँदै थिए, खोलाको किनारमै कोहि मानिस काठ दाउरा छोप्दै थिए, कोहि खोलाबाट त्यो लेदो समेत उभाउँदै थिए। त्यो देखेर दिमागले भने केहिबेरको लागी फुर्सद पायो, अनुमान र अड्कलको भुमरीबाट उम्किएर ।(Video On Youtube) त्यसपछि थप तस्विर, भिडियो र समाचार आए । बेपत्ताहरूको सङ्ख्या बढ्दै थियो, उद्दारक्रम जारी थियो। त्यस्तै एक भिडियोमा एक जनाले आफन्तलाई फोन गरेर "१ घन्टामा तपाईँको गाउँसम्म  आईपुग्छ वरपर सबै तिर खबर गरेर गाउँ छोड्नुहोला" भन्ने समेत सुनियो - अहो त्यो मनोदशा ! (Video on Youtube

यसै भिडमा केहि त्यस्ता विभत्स तस्विरहरू पनि सार्वजनिक भए। त्यस्ता फोटोहरू त नराखेको भए पनि हुने भन्ने लाग्दै थियो । सायद नागरिक पत्रकारिताको स्वविवेक र मूल्याङ्कन क्षमताले त्यहाँनेर मार खान्छ। घटनाका सबै तस्विरहरू सार्वजनिक गर्न लायकका हुँदैनन्। अझ ताज्जुब त तब लाग्यो मानिसहरू "यस्ता खालका तस्विर नराखौँ है" भन्दै उनै तस्विर बाँड्दै थिए। तर साँझपख एउटा यस्तो तस्विर सार्वजनिक भयो, जसलाई यहाँ नबाँडि मनले मानेन । माथिको भूमिका सोहि तस्विरका लागी । 

तस्विरमा देखिने वृद्द करिबन् ७४ वर्षका सार्दिखोला कसेर निवासी सन्तबहादुर तामाङ भनेर चिनाईएको छ । सबैरै १५ वटा बाख्राको बथान सेति खोलाको किनारमा चराउँदै गर्दा हिमालको लेदो हुत्तिएर उनितर्फ आइरहेको थियो । तर उनि हिम्मतका साथ एउटा खिर्रोको रुखको हाँगो समातेर त्यो अजिङ्गरझैँ सल्बलाउँदै गरेको लेदोको ढाडमा चढे । हाल सम्ममा ़१३ प्राण पखेरु हरेर र अनेकौँ वस्ति उजाडेर त्यो लेदो लुप्त भयो, मृतात्माले चिर शान्ति पाउन र  त्रासिद तथा पिडित लाई सन्तबहादुरको झैँ निर्भयता तथा अनुकुलता प्राप्त होस् । 


( शनिबार वैशाख २३, २०६९)

No comments:

Post a Comment

Your feedback ?