लाँकुरी रुट्स

अचारसंहिता (व्यङ्ग्य)

Friday, May 4, 2012

गत साता काठमाण्डौमा 'विश्व अचार दिवस' को अवसर छोपेर नेपाली अचार उत्पादकहरूले पनि एक कार्यक्रमको आयोजना गरी भव्यताका साथ सो दिवस मनाए। विश्वभरी छरिएर रहेका अचारका पारखिहरूले वर्षभरी आ-आफ्नै ढंगले स्वेच्छिक रुपमा अचार उत्पादन गर्ने गरेको भएतापनि यसरी वार्षिक रूपमा भेला भएर राष्ट्रिय रूपमा समेत आफ्नो दिवस मनाउन पाउनुले अचारको व्यापकता अझ प्रचलित बन्ने आयोजकले बताए। 

मानिसलाई आहारको बानी बसेदेखी दैनिक, साप्ताहिक, पाक्षीक, मासिक, द्वैमासिक, त्रैमासीक खुराकको रुपमा मुलधार तरकारी उत्पादकहरूले आफ्नो विज्ञताको  दुरुपयोग गर्दै बेस्वादे, बेमौसमी तरकारी लाद्ने गरेको अवस्थामा सर्वसाधारणले पनि आजकल अचारको स्वाद पत्ता लगाएर यसतर्फ आकर्षित भएको एक सहभागीको अनुमान थियो। "यि मुलधारे तरकारी उत्पादकले पैसा पाए भने जस्ता सुकै बारीका जस्तासुकै झारपातलाई पनि मसला बनाएर घिचाउँछन्", छेवैमा बसेर कुरा सुन्दै गरेका अलि अग्रगामी जस्ता देखिने अचार उत्पादकले रिस पोखे । 

गजल -३८- संविधानमा लगानी

Monday, April 2, 2012

सागमा बेसार बालुवामा पानी,
त्यस्तै भो साथी संविधानमा लगानी ।

खेताला जोडिए, चार दिशा घेरेर,
जरा काट्ने कोहि, कोहि धुरी चढ्न जानी। (*)

ब्याडे धानमै गर्दैछन, खेताला रजाईँ,
मुसुमुसु हाँस्दै बसेको छ ज्ञानी ।

उसैको आरिसले गर्जदैँछन् कोहि,
छिमेकीले पनि थोरै गरेको छ लगानी।

सिला बटुल्दै डुल्दैछन् खेताला कोहि,
अर्को छिमेकी चुपचाप कुर्दैछ खानी।

भान्सेलाई चोक्टा खेतालालाई पानी,
भोका नाङ्गालाई तातो खरानी।
त्यस्तै भो साथी संविधानमा लगानी ।

जानी  = जानु (क्रि.) को बोलिचाली रूप

रङ्ग (कविता)

Wednesday, March 7, 2012

Holi, होलि
म रङ्गमा कञ्जुस्याईँ गर्ने मान्छे हैन,
रङ्ग रहर हो,
बस् एकनास रहोस्,
यो एक चिम्टी रङ्ग -
यसको सुगन्ध,
मेरा हातको कोमलता -
र तिम्रो गालाको पुष्टता,
अनि हाम्रो एकर्काको रङ्गमा रङ्गिने रहर - 
अमर रहोस्,
युग युगान्तर सम्म,
अनि प्रत्येक झुल्के घाम सँगै खेलौँला,
होलि तिम्रो सिउँदोसँग ।

मुक्तक - हानी गर्दैन

Thursday, March 1, 2012

छातामा प्वाल नपरुन्जेल पानी पर्दैन,
छातीमा भ्वाङ् नपरुन्जेल बानी पर्दैन,
जे जे हुनु त भै सक्यो,
अब एक सर्कोले त रत्ति नि हानी गर्दैन।


smoking, lungs, habits, ciggerates, सिगरेट, फोक्सो, चुरोट, अम्मल, धुवाँ

गजल -३७- धन्दा गजब हजुरको

Saturday, February 25, 2012

महल रुवाएर गल्लि हसाँउने, फन्दा गजब हजुरको,
आफ्नैले घेरेर फसाउने, धन्दा गजब हजुरको ।

जो जो थिए मतियार तपाईँका हतियार तपाईँका,
पर पर सर्छन आज नाम, भन्दा गजब हजुरको ।

फसल के जात रोप्नु भा'थ्यो, ती समथल फाँटमा,
जरै देखि नाङ्गिनु भो थोरै, खन्दा गजब हजुरको ।

अझै सल्बलाउँछन् परजिवि ढलेको वृक्षमा,
होला आँपझैँ अमिष्ट स्वादको, चन्दा गजब हजुरको ।

क्रान्तिको हिसाब माग्दै मधेश एक साथ गर्जियो,
झुपडिको खरै कम भो दौलत, गन्दा गजब हजुरको।



(तस्विर साभार : भोजराज दाहाल - नेपाल डायरी ब्लग)