लाँकुरी रुट्स

गजल -३६- कहाली लागेको छ

Tuesday, July 12, 2011

एउटा फूलको देशमा, पाली लागेको छ,
शीत नछोई झर्ला भन्ने, कहाली लागेको छ।

डील डील छ अमृत टप्प, खस्दैन एक थोपा,
पहरामा फुलेको छ माथी, आली लागेको छ।

गर्जिन्छ मात्र आकाश, छेड्दैन कालो बादल,
सबै कर्णहरूको अञ्जुली, खाली लागेको छ।

अब छैन आशको त्यान्द्रो, सुकाइदे, फुकाइदे,
भन्दा नटेर्ने जरा जरा नै, जाली लागेको छ।

गजल -३५- आँसिको छाप छ

Thursday, June 30, 2011

हातमा बिउ छातीमा आँसीको छाप छ,
मनमा लालच मुखमा सेवाकै आलाप छ।

झ्याल खोलेर भन्छ गुण्डागर्दि मुर्दावाद,
अचानो सुम्सुम्याउनेको कम्मरमा दाप छ।

"हो संविधान जनताकै हो, तर छोड् न ए!,
मेरै पालोमा लेख्छु", क्या हान्थाप छ।

हलिलाई मंसिरे धानको के ताकेता,
हिलो जति भो त्यति नै फलिफाप छ।

एकै हलका तिन गोरू, तिन तिर तान्छन्,
सबै भन्छन् बाँकि दुईको पो मनमा पाप छ।


कविता (नेपाली ब्लग वरिपरी)

Wednesday, June 29, 2011

त्यो दिन म घामपानीका कुरा खोतल्दै थिएँ,
अतृप्त मनशाले,
बादलमा झटारो हानेर सौर रसाएझैँ,
सुशेलीले हिमाल खोपेर मुहान फुटाई,
उर्लेको खहरे जस्तै,
म र मेरा भावना हरू छताछुल्ल भएका थिए।
त्यतै कतै प्रकृतिको आँगन माझ
मन पोखिएको कुनो निर
आफ्ना विचार र अभिव्यक्तिको साझा चौतारीलाई,
एउटा वृत्त - सम्वृद्द
 आकार दिन खोज्दै थिएँ ।
कलियुगका कुरालाई,
कनिकुथीको साहित्यले झड्कार्दै,
शब्दका तरंगहरू फिजाउन खोज्दै थिएँ,
मेरो प्यारो संसारमा,
आँखा अगाडि डाँडापारीका दौँतरीहरू परेड खेल्दै थिए,
एक चोटी पढ्नै पर्ने, लेख्नै पर्ने
कुनै कथालु खसखसले उक्साईरहेको थियो, फेरी सोचेँ
साहित्य जीवनको निम्ति हो,
रहस्यमय विज्ञान देखि अद्भुत समाज सम्म हो,
तै पनि छैमलेको बबुरो
पाँचथरे साईँलो का अभिव्यक्ति सँग बहकिँदा,
जोतारे शब्दहरू शब्द रहेका थिएनन्,
कुनै घायलका तरही मुसायरा जस्तै,
मेरा यात्राका सुस्केराहरू,
डायरीको पाना बाट जुर्मुराउँदै उठेर,
प्रतिबिम्बित हुँदै,
पानीफोटोमा टिल्पिलाउँदै थिए, मानौँ -
कृष्णपक्षको चाँदनीले समुन्द्रमा छलाङ् मारेको छ।
यस्तो समय र परिवेशमा,
म जस्तो भाते चोरलाई
साईबर चौतरीका गफगाफ,
प्रदिप, अर्चना, सुशिल, अञ्जली,
प्रवेस वा कुनै नेपाली केटीका अजब गजबका कुरा,
नेपाली ब्लगर र xnepali का गन्थन पढ्दैमा,
दुर्जेय चेतना प्राप्त भो भनेर,
भो न-कुरा गरम्,
किनकी म बुझ्छु,
घर आँगन छोडेर,
बाईरोडको बाटोमा निस्केपछि
आँफु सडकका अभिलेखको पात्र भईन्छ,
आफ्नै भनेका कति कुरा आफ्नै हुँदैनन्,
र यो?
यो त फगत् युटोपिया को खोजिमा हिँडेको यात्राको,
एउटा अन्त्यहिन सुरुवात हो।


soch, tsunami, pahiro, kuhiro, suiro, gazal, ghazal, rang, baato

गजल -३४- मनैमन डाकियो

Tuesday, June 7, 2011

खोला नदि हुँदै दुरी सागरमा नापियो,
जति टाढा भयौ उति मनैमन डाकियो

सेतीको सुसेली सुन्दै, हाँस्छ हिमाल कतै,
यता आफ्नै प्रतिध्वनि खोजेरै थाकियो।

छिनछिनका गनगन हरू सङ्लिए छालिए,
गुनासो सबै पराई जस्तै हाँसेरै ढाकियो।

लेख्नु पत्र, शब्द-दुरीले बढ्छ माया भन्थ्यो,
हेर आफ्नै पासोमा रविन्द्र क्या जाकियो।

फेसबुकमा प्रतिकृया शेर पठाउने बैनि अनिता नेपाल लाई धन्यवाद:

के भनौँ र साथ छोडी सागर तर्नेलाई,
बिकल्प स्वरुप आँखाका आँशु पोल्टोमा थापियो।
र,
नबोलेरै पछुताउनेआँधि हुरी लिई आउने .... प्रिय गजल गायिका निरा रानाभाट लाई पनि:

टाढा हुने थाहा थिएन समयको खेल ।
बाचा कसम पुरा गर्न देवीदेवता भाकियो ।
love, prem, nepali gazal, seti river, distance,

soch, tsunami, pahiro, kuhiro, suiro, gazal, ghazal, rang, baato