आज बिहान ६ बजे नै आँखा खुल्यो । प्रायको जस्तै हिजो पनि नेदरल्यान्ड को मौसम रून्चे थियो । कि त गर्ल्याम गुर्लुम पानी पर्नु कि त बादल खुलेर उज्यालो हुनु । षिषिर याममा मान्छेहरू बढी अन्तर्मुखी, दु:खि हुन्छन् भन्ने भनाईमा म सत प्रतिशत सहमत छु । घर भित्र खुम्चिएर बस्नुको विकल्प नै हुँदैन । साथी भाई सँगको भेटघाट हुँदैन, बाहिर घुम्न निस्कनु भनेको त काल खोज्नु नै हो। झ्याल समेत खोल्न डर लाग्छ, चिसो सिरेटोले सेकी हाल्छ । झन यस्तो मौसममा बसेर कोपेनह्यागनको सम्मेलनको प्रत्यक्ष प्रसारण हेर्दा त रिसले चुर चुर हुन्थेँ, त्यसमाथी नेपाली नेताको जम्बो टोली आएर बेईज्जत गरेको झोँक । 'Global warming, तेरो टाउको' भन्दै मरी मरी कलेज जान्थेँ, हिँउ जोत्दै ।
तर आज बिहान अचम्मै भो, घामले बडो गजबसँग स्वागत गर्यो पर्दा सर्काउँदा बित्तिकै । आधा निद्राको पीर उडिहाल्यो, खुसी पो लाग्यो । अनी नुहाएर तातो कफी बनाएँ, स्यान्डविच तयार गरेँ खाजाको लागी र ढोकामा पुगेँ । निस्कने बेलामा टेबलबाट क्यामराले टुलुटुलु हेर्न थाल्यो - एक्लै छोडेर जाला भनेर डराए जस्तो । 'बिचरा' तेरो काम आईहाल्छ कि आज ल हिँड भनेर बेल्ट मा घुसारेँ र लागेँ । घाम लागेको भए पनि चिसो चाहीँ उस्तै थियो - नजरलाई मात्र ठिक्क । बुबा - आमालाई फोन गरेँ बाटोमा, बिहानको सुरुवात राम्रो भयो ।
दिउसो अफिसमा भने चाहिँ अलि अल्छि लाग्दै थियो। :P तैपनि धेर-थोर प्रगती भयो । रिपोर्ट लेख्ने भने पछी पसिना छुटेर आउँछ । लेख्नलाई पनि ढंग पो चाहिन्छ त । ५ बज्दा साथ प्रेसर कुकुर बाटा हावा निस्के झैँ निस्के अफिस बाट।
फर्कने बेला लाई चाहीँ साँचिक्कै अविष्मरणीय बनाएँ । बाहिर निस्केको हरियो देखियो । गमिला घाम लागेका । आहा!
अनि त क्यामरा हातमा समातेर हिँड्दै आएँ कोठा सम्म । करिब १ घन्टा लाग्यो । बिचमा खिचेका फोटाहरू हेरौँ है त ! बाटोमा हिँडिरहँदा 'कन्दरा' को 'डाँडा पारी' भन्ने यो गीत कानमा यसरी नै बज्दै थियो -
No comments:
Post a Comment
Your feedback ?