लाँकुरी रुट्स

गजल -४२- छाप कसैको

Sunday, July 2, 2017

बस्दछ यसरी छाप कसैको
नसोच्नु कहिल्यै पाप कसैको।
म बाटो तर्की घुमेर आएँ
भैदियोस भनेर मिलाप कसैको।
लेखियुन गजल यस्तरी लाग्दछ
याद कसैको होस् आलाप कसैको।
हेरि बस्दछन हाँगा पात फूललाई
मनोमानी कसैको सन्ताप कसैको।
फेरिइरहुन् यि तन्त्र सँधै
र होस् कमसेकम फलिफाप कसैको।
ब्याट्रि कुनामा बुलुप घुरी बस्छ
उज्यालो कसैको अभिशाप कसैको।
रिझाएर हैन बिझाएर जितिन्
र भनिन् थिएन करकाप कसैको।
कर्म गर्नु फलको आश नगर्नु
हुँदैछ तक्मामा हानथाप कसैको।
एक्लै बसाउँछ बस्ति दिनेश (तामाङ्)
चाहिन्न उसलाई धाप कसैको।
फेरि फेरि हुन्छ पदग्रहण
ठाउँमा भैदिए माइ-बाप कसैको।
रुखै मुनि झर्ने भए फल सँधै
ईनाममा किन होस् नाप कसैको।
म भन्न सक्छु यस्तै सयौं शेर अरु
तर किन उरालौं रक्तचाप कसैको।

हर्क्युलसहरु

Wednesday, February 3, 2016

हाम्रा हर्क्युलसहरु
जिउसका पुत्र
पर्सियस का बन्धुहरु 
मिथोलोजिका तिनै साहसि महारथी जस्ता भए
तिनका तरवार-भाला जस्ता कलमका गाथा  
एक दशक नबित्दै  
पौराणिक कथा झैँ भए 
चर्चा चल्दा प्रश्न उठ्छ  
कुन समुन्द्रमा 
कुन समुन्द्रको देशमा 
कुन समुन्द्रको देशको अजङको सर्पको ढाडमा 
लम्पसार परेका छन
या छन यहिँ कहिँ  
नाचिरहेछन  
यो चक्र्व्युहमा
रुमल्लिरहेका छन्
यो आँफैले ल्याएको भुमरिमा 

तिमिहरुले नारायणहिटी बाट  
नारायणहिटिको दुलो बाट  
निकालेर शिरच्छेद गरेको अजिङ्गरहाइड्रा रहेछ 
एउटा काट्यौ अहिले 
सयौँ टाउका बनेर डसिरहेछ
विषवमन गरिरहेछ
तराइमा आगो ओकल्छ
सुदुरमा विषालु दाँत गाड्छ
पहाडको घाँटी बेर्छ
दिल दिमाग र चेत नभएका 
जम्बिजस्ता मुर्कट्टाहरुले मधेश हाँक्छन
एउटा टाउको काटदा हज्जारौँ पलाए
छाउरा अजिङ्गरहरु शक्ति सन्चय गरिरहेछन 
मोटाइरहेकाछन 
फुलिरहेकाछन
ढाडिईरहेका छन अझै हाइड्राहरु 
अब, फेरि कहिले निस्कलान 
धुरी धुरी बाट 
भाला तरवार जस्ता कलम बोकेर सडकमा 
हर्क्युलसहरु
जिउसका पुत्रहरु
त्यो मिथोलोजिका पौरखि पात्रहरु
त्यो अलकत्रे सडकका ति आन्दोलित कविहरु

गजल -४१- अखबारहरूले

Tuesday, September 10, 2013

सँधै आफ्नैका मात्र छाप्दैनन् अखबारहरूले,
सँधै नराम्रा मात्र छाप्दैनन् अखबारहरूले।

बेवारिसे मैला राता पछ्यौरीका गाथा छन्,
सुकिला कथा मात्र छाप्दैनन अखबारहरुले।

आफ्नो भाषण आफैले लेख्नुहोस कुनै दिन,
नभनेका कुरा मात्र छाप्दैनन अखबारहरुले।

खाँदै नखानेहरुको विसेषाङ्क छ यसपाली,
खानेको रमिता मात्र छाप्दैनन अखबारहरुले।

अनुराधा पुष्पाका कथा देखिन्छन् आकलझुकल,
हिसिला सरिता मात्र छाप्दैनन् अखबारहरूले।

भारत विरुद्द नेपाल विजयी पढिन्छ कहिलेकाहिँ,
नेताका फोटा मात्र छाप्दैनन् अखबारहरूले।

प्रसङ्ग : फुटबल 

गजल -४०- साईतको बेला

Wednesday, November 14, 2012

साइतको बेला राख्यौ भरि घडा मझेरीमा,
सम्झि सम्झि बाँचेको छु खाडिको यो खडेरीमा ।

एक अञ्जुली तिर्खा ले नै डोर्याउँथ्यो कहाँ कहाँ,
आधा भरी गाग्री बोकि आउँथ्यौ तिमी पँधेरीमा ।

खेल्दा खेल्दै मुटु जोड्ने पानी कस्तो चोप रै'छ,
कागजको डुङ्गा बनाई बगाउँथ्यौ कुलेसिमा ।

मुस्काएर बिदा दियौ भाग्य बहाव स्विकार थ्यो,
लुक्थे कहाँ कठै आँशु उभिएर बलेनिमा ।

सम्झनाले सिँचिएका पसिनामा बाँचेको छु,
रसाउला सगर फेरी, फर्कि आउँदा आँगनिमा ।

गजल -३९- जाली गजल

Wednesday, May 30, 2012

मिठा कुरा मात्रै‍‍‍ लेख्छु लेख्दिन भो गाली गजल
बालुवा झैँ शेर हुन्छन हात थाप्दा जाली गजल।

राप बोकि खुल्छ पर्दा, सुर्यमुखि आङ तान्छ
गालिब पात सरी फाल्छन शाह लेख्छ ताली गजल।

लेख्छु सुने मिठो खबर भेडिगोठ सप्रिएको
आउला संविधान अनि लेख्छु धारा हाली गजल।

रित्ता पाना भरी भरी पसिनाका टाटा मात्रै
डोबे कलम फुल्छ मसी कठै अपुताली गजल।

म्याद थपे छेपाराले कालो बादल सम्म लाई ,
ऐले मकता भेटे लेख्छु मिठो अर्को पाली गजल।

(शाह : गालिबको जीवन कहानी बाट उत्प्रेरित शेरमा उर्दुको शाहजाद (रईस खान्दानी, टोलको धन-प्रतिष्ठा भएको व्यक्ती) छोटकरीमा शाह जो गजलकारहरू भेला गरेर गजल सुन्ने सुनाउने गर्दथ्यो  - त्यस्तै मञ्चमा एकपटक निम्त्याईँदा गालिबले यो शेर भनेका थिए :
बना है शाहका मुसाहिब, फिरे है ईतराता,
वगरना शेहेर मै गालिब कि आबरू क्या है ।