लाँकुरी रुट्स: Beauty and The Beast (कथा)

Beauty and The Beast (कथा)

Thursday, August 5, 2010

कथा १. (Beauty and the Beast)
कथामा Beauty को प्रतिनिधित्व गर्ने मुख्य पात्र Belle गाउँकै सुशील, सभ्य र सुन्दर युवती हुन्। मध्यम परिवारमा हुर्केकी Belle आमाको लालन पोषणबाट सानै उमेरमा वञ्चित भए तापनि उनका बाबुले भरसक मिहिनेत गरेर उनलाई पढ्ने, विश्वको बारेमा जान्ने बुझ्ने बनाए। नारी भएकोले घरको स्याहार सुसार गर्ने, खाना बनाउने आदि काम आफैले सिक्दै गइन्। गाउँको पुस्तकालयका सबै किताब उनले दोहोर्याएर पढिसकेकी छिन । उनी गाउँमा घुम्न निस्कँदा, चराचुरुङ्गी उनको वरि परि झुम्मिन आउँछन्, अरु युवती झ्यालबाट हेर्दै उनको रुपको ईर्ष्या गर्छन्, उनको एक झलक पाउन युवकहरूको तँछाडमछाड हुने गर्दछ। तर सँधै लोक कथा र आफ्नै कल्पनाको दुनियाँमा रमाउने उनको कल्पनाको राजकुमार बेग्लै हुन्छ, कुनै दन्त्यकथाको पात्र जस्तै। Belle का बाबु गाउँमा 'पागल वैज्ञानिक' भनेर चिनिन्छन्। उनी मानिसको जीवन सहज बनाउने नयाँ नयाँ उपकरणको निर्माण गर्छन् र हरेक वर्ष एक हप्ताको बाटो टाढा हुने प्रदर्शनीमा आफ्नो अनुसन्धान बेचेर वर्ष भरी खर्च पुग्ने पैसा ल्याउँछन्। Belle को सानोतिनो फुल व्यापार बाहेक यही नै हो उनीहरूको मुख्य आय स्रोत ।

उनका बाबुले यो वर्षको लागी दाउरा चिर्ने एउटा नयाँ उपकरण बनाएका छन् र त्यसलाई बेच्न को लागी प्रदर्शनीमा जान्छन्। प्रदर्शनी स्थल पुग्न उनी घना जङ्गलको बाटो हुँदै जानु पर्ने हुन्छ । बीचमा उनको घोडा स्यालदेखि तर्सेको हुनाले त्यो जङ्गलमा हराउँछन्। घना जङ्गलमा भौँतारीँदै जाँदा उनी एउटा भव्य महलको ढोकामा पुग्छन्, तर ढोका खुल्लै भएको अनि भित्र मधुरो बत्ती बलेको देखेर 'सहयोग गर्नुस' भन्ने आवाज निकाल्दै बङ्गला भित्र पस्छन् । बङ्गलामा स्वचालित, बोल्ने भाँडाकुँडा, मैनबत्ती र सरसामान देखेर उनी आश्चर्य चकित पर्छन । उनीहरू त्यहाँका सुसारे भएको भन्दै र धेरै वर्ष पछि त्यस महलमा मानिसको प्रवेश भएकोमा उनको पा‍हुना सरह खातिरदारी गर्छन् । यत्तिकैमा डरलाग्दो Beast देखा पर्छ जो आफुँलाई त्यस महलको मालिक भएको बताउँछ । सबै सरसामान डरले आ-आफ्नो यथास्थानमा उभिन्छन्, Beast ले आफ्नो अनुमति बिना घरमा आएर आफ्नो सामान प्रयोग गरेकोमा रिसले चूर हुँदै उनलाई अँध्यारो कोठामा लगेर थुनिदिन्छ । बाबु आफ्नी छोरीको बिलौना गर्दै अँध्यारो कोठामा लाचार भएर बस्न बाध्य हुन्छन्।

यता उनको घोडा फर्केर गाउँमा पुग्छ । Belle ले यसरी घोडा एक्लै फर्केकोमा घोडा लाई सुमसुम्याउँदै पीर मानेर बस्छिन्। घोडाले उनलाई आफ्नो पछि पछि आउन संकेत गरेको ह्याउ पाएर उनी सोही घोडा चढि त्यो जङ्गलको महलमा पुग्छिन् । Beast सँग आफ्नो बिरामी बाबुको साटो आँफु आजीवन बन्दी बस्ने सर्त राखेर बाबुलाई बिदा गरी आफुँ त्यहिँ बस्छिन् । त्यहाँका सुसारे को अनुरोधमा Belle लाई राम्रो कोठा र खाने लाउने को व्यवस्था गरिन्छ । त्यहाँका सुसारेले अनेक बहाना गरी Beast को र Belle को आपसमा सम्बन्ध कायम गरिदिन्छन् र Beast ले भित्र भित्र Belle लाई प्रेम गर्न थाल्दछ। Belle आफ्नो स्वभावैले गर्दा उ सँग थोरै डर भए तापनि राम्रो साथीको रुपमा नजिकिन पुग्छिन् । त्यो महल केहि दिनमा नै एउटा सानो परिवार झैँ देखिन लागेको हुन्छ ।

उता Belle का बाबुले गाउँमा त्यो महलका बारेमा बताएर गाउँलेको गुहार माग्दा उनलाई पागलको उपनाम दिएर बेवास्ता गर्दछन् तर अथक मिहिनेत पश्चात् केहि हितैषी को साथमा छोरीलाई छुटाउन महलमा आउँछन् ।
महलमा गाउँलेले जबर्जस्ती Belle लाई छुटाएर लैजान खोज्दा Beast घाइते हुन्छ । घाइते Beast लाई Belle ले काखमा लिएर 'म तिमीलाई माया गर्छु' भन्दै बिलौना गर्छिन् । उनको आँशु त्यो Beast को शरीरमा पर्दा बित्तिकै त्यो Beast एउटा सन्दर युवकमा परिणत हुन्छ अनि सबै सुसारे हरू आफ्नो रुपमा आउँछन् ।

त्यो युवक धेरै पहिला त्यहाँको घमन्डी र अहङ्कारी राजकुमार हुन्छ। एक झरी परेको साँझमा ढोकामा आएकी झाँक्री-महिलाले बास माग्दा उसले ती महिला को अपमान गरी लत्याइदिन्छ। ती महिलाले रिसमा उसलाई त्यस्तो डरलाग्दो कुरूप जन्तु अनि घरका सुसारे लाई सरसामान मा परिणत गरिदिन्छिन् । त्यसपछि उसले आफ्नो गल्ती स्विकार गर्दै माफी मागेपछि उसलाई एउटा गुलाब दिएर ती महिलाले 'यो गुलाब ओइलाएर यसका पत्र नझर्ने बेला सम्म तैँले यही रुपमा र रहस्य नखोली यदि कुनै युवतीको मन जित्न सकिस भने तँ फेरी आफ्नो पुरानो रुपमा आउनेछस्' भनेर त्यहाँबाट जान्छिन् । त्यही श्राप उत्रेर उ फेरी राजकुमार भएको हुन्छ । त्यसपछि उनीहरू सदाका लागी सुखी भएर जीवन व्यतीत गर्छन्।

कथा २. (Nihita and the Serpent)
दोश्रो विश्वयुद्द ताका भियतनाममा फ्रान्सको राज थियो। सन् १९४४ मा भियतनामको Saigon शहरमा भारतीय बाबु र भियतनामी आमाको कोखबाट एउटा बालकको जन्म हुन्छ । भारतीय बाबुले छोडेर गएपछि आफ्नी आमा फ्रान्सका लेप्टन सँग पोईला जान्छीन्। सौतेली छोरो हुनाले उसले राम्रो शिक्षा र हेरचाह पाउँदैन । त्यसैले कहिले कता कहिले कता भौँतारिँदै सडकछापको रुपमा उ जवान हुन्छ । युवक हुने बेला सम्म नै उसका दुर्व्यवहार र कुकर्मका कान्ड देश विदेश सम्म फैलि सकेका हुन्छन। अनि आफ्नो दोस्रो बाबुको नाममा फ्रान्स र एसियामा घुमघाम गर्न पाउने भएकोले उसका बदनामी कर्महरुमा सिमानाको तोक हुँदैन । जेलमा भेट भएका अन्य अपराधी नै उसका दौँतरी हुन पुग्छन् ।

कहिले जेल भित्र त कहिले जेल बाहिर गरेर जीवन निर्वाह गर्ने क्रममा एउटी फ्रान्सेली युवती सँग उसको प्रेम हुन पुग्छ । ती युवतीले उसको सबै कर्तुत जान्दा जान्दै पनि उसको श्रीमती हुने कबुल गर्छिन् र उनीहरू विवाह बन्धनमा बाँधिन पुग्छन् । त्यसको लगत्तै केही समयपछि एउटा अपराध बाट लुक्नको लागी उ फ्रान्समा आफ्नी गर्भवती श्रीमती छोडेर एसिया भाग्छ। यसरी भाग्ने क्रममा सँगै हिँडेका सहयात्री लाई साथी बनाउने अनि पछि लुट्ने गर्दै अन्तिममा भारत आई पुग्छ । उसकी श्रीमती पनि त्यहीँ आएर छोरालाई जन्म दिन्छिन् । भारतमा आएर उसले गाडि चोर्ने, लुटपाट गर्ने तथा जुवामा पैसा लगाउने जस्ता अपराधी क्रियाकलापको धन्दा सुरु गर्छ।

भारतमा एउटा गहना चोरीको कान्डमा दम्पती नै पक्राउ पर्छन्। तर त्यहाँ बाट आफ्नो बाबु सँग पैसा मगाई धरौटीमा छुटेर उ अफगानिस्तान पुग्दछ । त्यहाँ पनि उ पर्यटक लुट्ने क्रममा पक्राउ पर्दछ। उसले फेरी बिरामी भएको नाटक गरेर जेलका कर्मचारीलाई बेहोस हुने औषधि खुवाएर भाग्न सफल हुन्छ । तर उसकी श्रीमतीले आइन्दा उसको आपराधिक क्रियाकलापमा साथ नदिने प्रण गर्दै पुन: फ्रान्स फर्किन्छिन्, उ भने पूर्वी यूरोप छिर्छ । यूरोपमा आफ्नो भाईलाई समेत सामेल गरेर केही गरगहना र लागुऔषधको ओसारपसार गर्ने अपराध गर्दछ । केहि समयमा दाजुभाइ नै पक्राउ पर्दा पासपोर्टको हेरफेर गरि भाइलाई ग्रिसको जेलमा छोडेर उ फेरी फरार हुन्छ ।

त्यसपछि थाइल्यान्डमा केहि समर्थक र सहयोगी को भरमा पर्यटक लुट्ने व्यवसायमा तल्लीन रह्यो । यहीँ उसले एक आपराधिक व्यवहारकी क्यानाडियन महिला सँग प्रेम सम्बन्ध बढायो र अरु केहि मानिसको विस्वास जित्न सफल हुन्छ। यहाँ बाट उसले एकजना भारतिय अपराधीको सहयोगमा पर्यटकको हत्या गर्ने कान्ड पनि सुरु गर्यो । यहाँ नेदरल्यान्डका एक जोडि को हत्या गरि आफ्नै विश्वासीहरुले शंका गर्न लागेपछि उसको भागदौड सुरु हुन्छ। त्यहाँबाट भागेर उ भारतको मुम्बई पुग्छ जहाँ उसले एक ईजरायली पर्यटकको हत्या गरि उसको पासपोर्ट जफत गर्छ। त्यसको केहि समय पछि भारतकै नयाँ दिल्लीमा केहि फ्रान्सेली पर्यटकको गाईड भै उनीहरू लाई विष दिएर लुटपाट गर्ने क्रममा उ पक्राउ पर्दछ। तर त्यहाँ उसले आफ्नो जिउमा लुकाएका हिरा,र गरगहनाले जेलकर्मीलाई घुष दिई फरार हुन सफल हुन्छ् । उसका सबै सहयोगी पक्रिएपछि उ नितान्त एक्लो थियो । उसकी प्रेमीका लाई पक्रेर क्यानडा फिर्ता पठाइन्छ जहाँ उसको जेलमै क्यान्सर लागेर मृत्यु हुन्छ। उ पुन पक्राउ परि भारतको गोवा मा १० बर्षे जेल सजाँय भोगेर नेपाल आई पुग्छ । नेपाल मा धेरै वर्ष अघिको उसको २ जना पर्यटकको हत्यामा अभियोगमा प्रहरीले खोजी गरिरहेको हुन्छ । नेपाल मा फेरि पक्राउ परेपछि र कुनै कानुनी दाउपेच, नौटंकिले काम नगरेपछि उ काठमाडौँमा आजीवन सजाय भोग्न बन्द गरिन्छ।

सन् २०१० मा ६६ वर्षको उमेरमा लागेको हतकडीबाट फुत्कने दाउपेचको लागी फ्रान्सबाट छुट्टै वकिल बोलाउँछ। सो वकिललाई दोभासेको रुपमा सहयोग गर्न काठमाडौँ कि एक २० वर्षिया युवती जान्छिन्। उनि जेल भित्र त्यो अपराधीलाई देख्ने बित्तिकै पहिलो नजरमा नै उनको प्रेम बस्न पुग्छ र उनले उ सँग विवाह गर्ने निर्णय गर्छिन् । उनको यो निर्णयले उनकी आमा ज्यादै गौरवान्वित हुन्छिन्। आफ्नी आमाको सहयोगमा जेलमै उनले विवाह गरेर विश्वमा चर्चा कमाउन सफल हुन्छिन् । उनि आफ्नो प्रेमी निर्दोष भएको भन्दै अदालतमा मुद्दा दायर गर्छिन्। अदालतले उनको मुद्दा लिन नमानेपछि न्यायाधीश हरु घुसखोर भएको आरोप लगाउँछीन् । उनको यस्तो आरोपले उनकी आमा र उनि दुवैलाई जेल सजाय तोकिन्छ। हाल कथाका तिनै पात्र काठमाडौँको चिसो जेलको छिँडीमा जीवन गुजारा गर्दैछन्।

‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍======================............======================
माथिको पहिलो कथा Beauty And the Beast भन्ने चर्चित फ्रान्सेली लोककथालाई चलचित्रको रुप दिइएको सन् १९९१ को कार्टुन चलचित्रको हो। सो कथामा एउटी युवतीले एउटा भयानक जन्तुलाई प्रेम गरेर उसलाई फेरी मानव बनाएको दृष्टान्त छ। बाबु छोरीको एक अर्का प्रतिको भलाइका लागी समर्पण छ । सुखद अन्त्य छ ।

दोस्रो कथा विश्व भर कुख्यात अपराधी चार्ल्स शोभराजको हो जो दानव सरह जीवन व्यतीत गरिरहेका छन् । यसमा पनि एक युवती छन् जो आफ्नी आमाको सहयोगमा दानवलाई प्रेम गरेर आफ्नो जीवन कष्टकर बनाइरहेकी छिन् । के यो दानव उनको सपनाको राजकुमार नै हो त जो पछि उनको मानिस भएर ब्यूँतनेछ ?

3 comments:

  1. katha ramailo lagyo Rijal ji!!

    Nihita ra Shobharaj bich sachhai ko prem-sambandha hola ta ? malai ta sab natak jasto lagchha.. publicity stunt..

    ReplyDelete
  2. रबिन्द्र जी तपाई को यो छोटो कथाले राम्रो जानकारी प्रदान गरे जस्तो लाग्यो
    तर मलाई पनि त्यो प्रेम भन्दा पनि नाटक नै लाग्न थाल्यो सायद कुनै नया तरिका छुटिनको लागि ...

    ReplyDelete
  3. धन्यवाद साधना जी र अमित,
    पक्कै पनि यो प्रेम होइन। कथा लेख्ने बेला मा अरु नाम दिन नसकेको ले 'प्रेम बस्यो' भनेर लेखेको हुँ। यिनीहरूको हरकत ले नेपाली नारीको, सम्पूर्ण अभिभावकको दायित्व, र प्रेम भन्ने पवित्र सम्बन्धकै बदनाम गरेको छ। साधनाजी ले भने झैँ यो कुख्याती हुने काम बाहेक अरू केहि होइन। कठै तुच्छ मानसिकता !

    ReplyDelete

Your feedback ?